ताप्लेजुङमा शनिबार साँझको झडपमा २४ घाइते, १५ पक्राउ
- ताप्लेजुङताप्लेजुङको पाथिभरा क्षेत्रमा केवलकार बनाउने विषयमा भएको झडपका क्रममा २४ जना घाइते भएका छन् । केवलकार निर्माणको विरुद्धमा आन्दोलनरत समूह र सुरक्षाकर्मीबीच भएको झडपमा दुवै तर्फका गरी २४ जना घाइते भएका हुन् ।
घाइते मध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले लगिएको छ । थप उपचारका लागि उनीहरुलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते छन् । उनीहरु मध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ भने अरुकोे जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
आन्दोलनत समूहतर्फ पनि त्यतिनै संख्यामा घाइते भएको प्रारम्भिक जानकारी आएको रावलको भनाई छ । रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएर पनि उपचार गराइ रहेकाले यकिन तथ्यांक नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नवीन पोमु लगायत छन् । तर, प्रहरीले पक्राउ परेकाको नाम भने खुलाएको छैन । हुल हुज्जत नियन्त्रणका लागि शनिबार बेलुका २ राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
आन्दोलनरत पक्षले भने आन्दोलनकारी बसेको घर तथा होटल छापा मारेर कुटपिट गर्दै धरपकड जस्ता अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । आन्दोलनरत समूहका अर्का अगुवा प्रदिप मादेनले भनें २७ जनालाई पक्राउ गरेको दाबी गरेका छन् ।
स्थिति तवाग्रस्त बनेसँगै जिल्ला प्रशासन कार्यालयले सदरमुकाम फुङ्लिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ । शनिबार साँझ आन्दोलनरत पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडपसँगै स्थिति तनावपूर्ण भएको थियो ।
पाथीभरा क्षेत्रको पदयात्रा सकेर फुङलिङ आएका आन्दोलनरत समूूहले राँको सहितको जुलुस निकालेर घरघर तर्फ आगोको लप्का फालिदिएपछि स्थिति असामान्य बनेको थियो ।