माओवादी केन्द्रको 'तराई मधेश जागरण अभियान' सुरु
- काठमाडौंप्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेश र तराईका जिल्लामा तीन साता लामो जागरण अभियान आजबाट सुरु गरेको छ । माओवादीले आफ्नो संगठन कमजोर भएका मधेश र तराईका जिल्लामा जागरण अभियान सुरु गरेको हो ।
झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी हुँदै अघि बढ्ने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान थालिएको माओवादी केन्द्रले जनाएको छ ।
अभियानका लागि अध्यक्ष पुष्पकमल दाहालसहित उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित नेताहरू झापा पुग्नु भएको छ ।
पहिलो चरणमा झापाको कचनकबलबाट तराई मधेश अभियान सुरु गर्दै आगामी चैत ७ गते कञ्चनपुर पुगेर समापन गर्ने तयारी माओवादीले गरेको हो । अभियानका क्रममा नेताहरुले दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने बताएका छन् ।
प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशको झापा र मोरङमा सभा हुनेछ । मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सभा र अन्तरक्रिया गर्ने माओवादीले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सभा गर्ने भएको छ । बाग्मती प्रदेशको चितवन, गण्डकीको नवलपरासी पूर्वी भागमा पनि एक/एक दिन र सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर समापन गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रले जनाएको छ ।