आज महाशिवरात्रि, पशुपतिमा दर्शनार्थीको घुइँचो
- काठमाडौंमहाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी आज मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाउन लागिएको हो ।
यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गएरातिदेखि नै पशुपति क्षेत्रमा भीड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा रहेको शिव पुराण लगायत ग्रन्थमा उल्लेखित छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।
शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दैछ ।
यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरो लगायत लागूपदार्थ निषेध गरिएको छ । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न पशुपति क्षेत्रमा पाँच हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
महाशिवरात्रिका अवसरमा आज बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएका छन् । शिवरात्रिका दिन दर्शनार्थीको भीड नसकिएसम्म मन्दिर खुला रहनेछ र मूल भट्टसहित ५ जना भट्ट मन्दिरमा रहने व्यवस्था मिलाइएको पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताउनुभयो ।
यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ ।
त्यस्तै, पशुपति मन्दिरका चार ढोकाका आधारमा चार वटा लाइन बाहिरबाट मन्दिरभित्र पस्ने व्यवस्था गरिएको कोषले जनाएको छ । मन्दिरभित्र ती चार लाइनलाई १० वटा सहायक लाइन बनाएर प्रत्येक भक्तजनले २ सकेन्ड दर्शन गर्न पाउनेछन् ।
विगतमा शिवरात्रिमा वितरण गरिने पास दुरुपयोग भएको भन्दै कोषले यसपटक पास खारेज गरेको छ । भीभीआईपी र भीआईपी दर्शनार्थीलाई पशुपति मन्दिरभित्र लैजान वनकालीमा रहेको कोषको कार्यालयमा हेल्प डेस्क राखिएको छ । लाइनमा रहने वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई स्वयंसेवक तथा सुरक्षाकर्मीले सघाउने कोषले जनाएको छ ।
कोषले शिवरात्रिका लागि यसपटक डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकम पशुपति मन्दिर परिसरमा रंगरोगन, साधुसन्तलाई खानपान, धुनीका लागि दाउरा÷मुढा व्यवस्थापन लगायतमा खर्च गरिने कोषले जनाएको हो । कोषले शिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा कोष र गुठी संस्थानका तर्फबाट ‘बिदाइ दक्षिणा’ दिने प्रचलन छ ।