माओवादी अभियान महोत्तरीबाट पुन: सुरु हुने
- महोत्तरीधनुषाबाट स्थगित भएको माओवादीको ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ बुधबार पुन: महोत्तरीबाट सुरु हुने भएको छ । जिल्ला पार्टी कार्यालयका अनुसार अभियान पुन: सुरु गर्न बुधबार साँझ ५ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका पार्टी पदाधिकारीको टिम महोत्तरी मटिहानिको तुलसियाही आइपुग्ने छन् ।
तुलसियाही पुलबाट जनता भेटघाट यात्रा सुरु हुने माओवादी महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार जिल्ला पार्टी, पार्टीको नगरकमिटी, मटिहानी नगरपालिका, लक्ष्मीनारायण मठका महन्त र व्यापार संघ मटिहानिले गर्ने स्वागत कार्यक्रम र भेटघाटपछि अध्यक्षसहित सिंगो टिम जलेश्वर बास बस्न पुग्नेछ ।
बिहीबार बिहान साढे पाँचदेखि जलेश्वरमा पुन: जनता भेटघाट गर्ने, बिहानी यात्रा गर्ने, भिठामोड सुख्खा बन्दरगाह क्षेत्र अनुगमन गर्ने र पार्टीका विविध कार्यक्रमपछि मध्याह्न १२ बजे सम्सी गाउँपालिकाको बजारमा खबरदारी सभालाई अध्यक्ष दाहालसहितका नेताहरुले सम्बोधन गर्ने कार्यकालिका रहेको जिल्ला पार्टी महोत्तरीले जनाएको छ ।
बुधबार जलेश्वरका झण्डै २५ नेता कार्यकर्ता, शुभेच्छुक र जनताको घरमा नेताहरु बस्नेगरी व्यवस्थापन गरेको पार्टीले जनाएको छ । महोत्तरीको मटिहानीदेखि सोनामा खैरबनीसम्म ४ पालिका अन्तर्गत ३२ किलोमीटर क्षेत्रमा अभियानमा नेता कार्यकर्तालाई स्वागत गर्न ३२ वटा स्वागत गेट बनाइएको र सबै तयारी पूरा भएको इन्चार्ज खड्काले बताउनुभयो ।