मुख्य समाचार

प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश स्वीकृत

- केएफएम डेस्ककाठमाडौं

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले ५ वटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले सहकारी सम्बन्धी अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धीे अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश स्वीकृत गरेको हो । 

दलहरुबीच सहमति नभएपछि सरकारले भूमिसम्वन्धी अध्यादेश बाहेक अन्य ५ वटा अध्यादेश मात्र संसदमा अघि बढाएको थियो । प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएका ५ वटै अध्यादेश माथिल्लो सदन राष्ट्रिय सभाबाट समेत अनुमोदन गर्नुपर्नेछ । राष्ट्रिय सभाको बैठक भोलि बस्दैछ । बैठकमा ५ वटा अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूचि तय भएको संसद सचिवालयले जनाएको छ ।

 यसैबीच, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेशको बिषयवस्तुमा विरोध गर्ने ठाउँ नभएपछि विपक्षीहरुले विरोधका लागि विरोध मात्र गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा आज बोल्दै उहाँले सेवाग्राहीलाई एक दिनमै सेवा प्रवाह गर्नुपर्ने कानूनका लागि ल्याइएको अध्यादेशको कुन बुँदामा विरोध हो भन्ने प्रतिप्रश्न समेत गर्नुभयो । अध्यादेशका सबै पक्षहरुको संक्षिप्त विश्लेषण गर्दै मन्त्री गुरुङलेसुशासन प्रवाह र अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेश ल्याइएकाले विरोधको अर्थ नभएको बताउनुभएको थियो ।