मुख्य समाचार

केपी ओली कपको फाइनलमा दशरथ रङ्गशालामा भएको कुटपिटको संसदमा विरोध

- केएफएम डेस्ककाठमाडौं

काठमाडौंको दशरथ रङ्गशालामा केपी ओली कप फुटवलको फाइनल म्याचका दिन प्याराफिटमा रहेका दर्शकमाथि भएको कुटपिटको विपक्षी दलका सांसदले विरोध जनाएका छन् । गत सोमवार प्रतियोगिताको फाइनल हेर्न गएका केही दर्शकले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीविरुद्ध नारावाजी गरेका थिए । सोही क्रममा दर्शकमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि घटनाको विरोध भइरहेको हो । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै विपक्षी दलका सांसदले सो घटनाको विरोध गर्दै कुटपिटमा संलग्नमाथि कारवाही गर्न माग गरेका छन् । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले दर्शकलाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।

रंगशालाको घटना समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर गरिएका छन् । नागरिकको बोल्न पाउने अधिकार हनन् भएको भन्दै घटनाको विरोध संसदभित्रबाट समेत भएको हो । सांसद शिव नेपालीले गलत गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सकिने भएपनि कुटपिट गर्नु ठिक नभएको बताउनुभयो ।

सांसदहरुले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी नागरिकमाथि आक्रमण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । रास्वपाका सांसद शिशिर खनालले फुटवल म्याचमा दर्शकलाई कुटिएको घटना गलत भएको टिप्पणी गर्नुभयो ।

रंगशालाको घटनालाई लिएर सामाजिक सञ्जालबाट समेत सरकारको आलोचना भएको छ । कतिपयले भने वाक् स्वतन्त्रताको नाममा प्रधानमन्त्रीविरुद्ध अशिष्ट तरिकाले नारावाजी गरिएको भन्दै त्यसको विरोध गरेका छन् । यसैबीच, संसद भवन परिसरमा प्रधानमन्त्री ओलीलाई नकारात्मक प्रश्न सोधेको आरोपमा संसद सचिवालयले दुई जना सञ्चारकर्मीको पास निलम्बन गरेको बिषयमा केही सांसद र नेपाल पत्रकार महासंघले आपत्ति जनाएका छन् ।