मुख्य समाचार

आगामी चुनावमा प्रतिस्पर्धा गर्न पूर्वराजालाई प्रधानमन्त्री ओलीको चुनौती

- केएफएम डेस्ककाठमाडौं

राजावादी पार्टी र समूहले राजतन्त्रका पक्षमा विभिन्न गतिविधि गरिरहेका बेला प्रमुख दलका शीर्ष नेताहरुले राजसंस्था पुर्नस्थापना गर्नुपर्ने मागको औचित्य नभएको बताएका छन् । जनताको बलिदानबाट आएको गणतन्त्रलाई उल्टाउन कुनै शक्तिले नसक्ने उनीहरुको भनाइ छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लोकप्रियता जाँच्न आगामी चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ ।

राप्रपासहितका दल र समूहले पछिल्ला सातामा राजतन्त्र बहालीको माग गर्दै कार्यक्रमलाई तीव्रता दिएका बेला प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति आएको हो । यसैबीच, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरेमा जनताकै बलबाट समाप्त हुने चेतावनी दिनुभएको छ । महोत्तरीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपालको इतिहासलाई पछाडी धकेल्ने कोशिश भएको बताउनुभयो ।

कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएको उहाँको भनाइ थियो ।