मुख्य समाचार

राजतन्त्र फर्कने हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक

- मोहन शाहीडोटी

गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा केही व्यक्तिहरुबाट भइरहेको प्रचारप्रसारको कुनै अर्थ नभएको बताउनु भएको छ । पछिल्लो समय राजाको माग गर्दै भईरहेका आन्दोलनहरुलाई संकेत गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्काउने नाममा केही व्यक्तिहरुबाट होहल्ला काम नलाग्ने बताउनु भएको हो । 

शनिबार डोटीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा लोकतन्त्र विरुद्ध पहिलेबाट नै षड्यन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताउनुभयो । 

गणतन्त्रको विकल्प राजतन्त्र नहुने तर्क गृहमन्त्री लेखकको थियो । ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ’, गृहमन्त्री लेखकले भन्नुभयो, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरु उपभोग पाइरहेका छन् ।’

गृहमन्त्री लेखकले नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आइसकेकाले राजतन्त्र फर्कने भ्रममा नपर्न सुझाव दिनुभयो । पूर्वराजालाई पार्टी खोलेर खुला छलफलमा आउन समेत उहाँले चुनौती दिनुभयो । नागरिक सरह पार्टी खोल्ने र चुनावमा लड्ने अधिकार रहेको उहाँको भनाई छ ।