मुख्य समाचार

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्दै

- रेडियो कान्तिपुर संवाददाताविराटनगर

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा आज सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो २ बजेपछि सुरु हुने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् । प्रदेशसभामा एमालेका ४० र काँग्रेसका २९ सांसदलाई बैठकमा उपस्थित हुन सत्तारुढ संसदीय दलले निर्देशन गरेको हो । 

बैठकमा सत्तारुढ दलका सबै सांसद उपस्थित हुने र त्यसअघि स्वागतका लागि सम्पूर्ण तयारी समेत भएको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभा र विभिन्न कार्यक्रममा सहभागि हुनका लागि प्रधानमन्त्री ओली बिहान साढे १० बजे काठमाडौंबाट कोशी प्रदेश प्रस्थान गर्नुहुने जनाएको छ । 

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालय परिसरमा निर्माण गरिएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्चको शैक्षिक भवन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एन्ड साइन्स शैक्षिक भवनको उद्घाटन गर्नुहुनेछ ।

यसैबीच, विपक्षी दलले भने प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनबारे औपचारिक जानकारी नहुनु, सरकारले संसदमा विपक्षीले उठाएका विषय सम्बोधन नगर्नु लगायत कारणले पनि बैठक बहिस्कारको तयारी भएको विपक्षी दलका नेताहरुले बताएका छन् । 

प्रदेशसभा बैठकमा उपस्थित हुने वा नहुने विषयमा विपक्षीसहित सत्तारुढ दलसँग छलफलपछि निर्णयमा पुगिने माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादर आङ्बोले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा संविधान कार्यान्वयन, सुशासनमा प्रतिवद्धता, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव लगायत विषयमा चर्चा गर्नुभएको छ । प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौं फर्किने सुरक्षा स्रोतले जनाएको छ ।