मुख्य समाचार

एकीकृत समाजवादीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

- केएफएम डेस्ककाठमाडौं

प्रतिपक्षी दल एकीकृत समाजवादीले केन्द्रदेखि स्थानीय तहसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

झन्डै दुई महिना चल्ने पहिलो चरणको आन्दोलन कार्यक्रम सो पार्टीले आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले आगामी बैशाख २२ गतेसम्म चल्ने पहिलो चरणको आन्दोलनपछि अर्को चरणको कार्यक्रम गरिने बताउनुभयो ।

एकीकृत समाजवादीका अनुसार चैत २ देखि ६ गतेसम्म मातहतका कमिटीहरूमा छलफल गरेपछि एक साता पश्चात् केन्द्रीय तहमा विभिन्न संघसंगठन तथा व्यक्तिहरूसँग सुझाव संकलन गर्ने तथा सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत कार्यक्रम तय भएका छन् । वैशाख १९ गतेबाट तीन दिनसम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक भएको छ ।

महासचिव भुषालले राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको बताउनुभयो । उहाँले रष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकता अभियानको रुपमा समेत आन्दोलनलाई लिइएको बताउनुभयो ।