राजसंस्था पुर्नस्थापनाका लागि पञ्चायतकालिन नेता सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति गठन
-राजतन्त्र पक्षधर नेताहरुले राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरेका छन् । पञ्चायतकालिन नेता नवराज सुवेदीको नेतृत्वमा विभिन्न दल र समूहका नेताहरु सहभागी हुने गरी समिति घोषणा गरिएको हो । चैत दोस्रो साताबाट संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी, लगायत एजेन्डासहित राजावादी शक्तिले आन्दोलन गर्न लागेका हुन् । समितिका संयोजक सुवेदीले साझा एजेन्डाका लागि मोर्चा बनाइएको बताउनुभयो ।
सुवेदी नेतृत्वको समितिमा राप्रपा र राप्रपा नेपालका नेता, मेडिकल व्यवसायी दुर्गा प्रसाई लगायत सहभागी हुने बताइएको छ । समिति घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा भने सहभागी हुनुभएन । कार्यक्रममा राप्रपाका महामन्त्री धवलशमशेर राणा, नेताहरु पशुपतिशमशेर राणा, विक्रम पाण्डे भने सहभागी हुनुभएको थियो । सो अवसरमा बोल्दै राप्रपाका महामन्त्री धवलशमशेर राणाले आन्दोलनका लागि मोर्चा बनाइएको बताउनुभयो ।
पछिल्लो समय राजतन्त्रवादी शक्तिहरुले विभिन्न गतिविधि गरिरहेका बेला चैत १५ गतेबाट आन्दोलन गर्ने भन्दै राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष समेत रहेका ८६ बर्षीय सुवेदीको नेतृत्वमा समिति गठन गरिएको हो । राप्रपाका नेताहरुका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहको रोजाइ अनुसार सुवेदीलाई आन्दोलनको संयोजक बनाइएको हो । सुवेदीलाई नेतृत्व दिने बिषयमा राप्रपा अध्यक्ष लिङदेन असन्तुट रहेको बताइएको छ ।