मुख्य समाचार

स्रोत नखुलेको २५ करोड सहित एकजना पक्राउ

- केएफएम डेस्क

काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिकामा स्रोत नखुलेको २५ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ठूलो मात्रामा अमेरिकी डलर र युरोसहित ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका–१ का ४३ वर्षीय कुसाङ लामा पक्राउ परेका हुन् । लामा भरियाको रूपमा ट्रक चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लैजादै गरेको सूचनाको आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ ।

एक सय दरका अमेरिकी डलर ३ हजार १ सय १९ थान र ५० दरका अमेरिकी डलर १ सय ७९ थान बरामद भएको छ । त्यस्तै, ५ सय, २ सय, १ सय र ५० दरका युरो ठूलो संख्यामा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका लामा यसअघि राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका थिए । उनले २०७३ सालबाट ५ वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।