मुख्य समाचार

औरही गाउँपालिका अध्यक्ष शिवजी यादव पक्राउ

- विनय आजादकाठमाडौं

सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् । उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आज बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिनुभयो ।

उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र भोलि पीडित परिवारसँग जाहेरी लिने आचार्यले बताउनुभयो । महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएसँगै घर भत्काइएको थियो ।

आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएका छन् । ३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो ।