औरही गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता
- सिरहासिरहाको औरही गाउँपालिकामा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । दलित समूदायका अगुवासहित प्रहरी कार्यालय पुगेको पीडित परिवारले जातीय छुवाछूत कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना माग गर्दै जाहेरी दर्ता गराएका हुन् ।
औरही गाउँपालिका–५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ । राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा प्रतिवादीहरुले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापीत गरेको भन्दै कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ । पीडित परिवारको जाहेरी प्राप्त भएसँगै कानूनी कारवाही प्रक्रिया अगाडि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । जातीय छुवाछूत सम्बन्धि कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ ।
आउँदो चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा मल्लिकको घर डोजर लगाएर भत्काइएको थियो । यसैबीच, असुरक्षित महशुस भएपछि मल्लिकको परिवार विस्थापित भएको छ । महायज्ञ गर्ने स्थानमा दीपक मलिकको घर रहेको भन्दै डोजर चलाएर भत्काएपछि नजिकै आश्रय लिइरहेको धम्की आएपछि मलिक परिवार पुनः विस्थापित भएको हो । महायज्ञका लागि डोजर लगाएर मलिकको घर भत्काउन निर्देशन दिने गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुले थप असुरक्षा महशुस गरेका छन् । पालिका अध्यक्ष शीवजीका छोरासहितको टोलीले मल्लिक बसेको स्थानमा पुगेर गाँउ छाड्न चेतावनी दिएका थिए ।