मुख्य समाचार

विवाहको उमेर हटाउने बहसमा गृहमन्त्रीको विकल्पः कि १८ बर्ष नभए रोमियो जुलिएट

काठमाडौं

नेपालमा विवाह गर्ने उमेर घटाउनुपर्ने बहस भइरहेका बेला गृहमन्त्री रमेश लेखकले यसबारे दुई वटा विकल्पमा जान सकिने बताउनुभएको छ । संसदको कानून समिति बैठकमा बोल्दै मन्त्री लेखकले मन्त्रिपरिषदमा पुगेको बालबालिकासम्बन्धी ऐनमा छलफल भइरहेको बताउनुभयो । मुलुकी संहिता अनुसार विवाह गर्ने केटाकेटी दुवैको उमेर २० वर्ष हुनुपर्ने व्यवस्था छ । तर पछिल्लो समय विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग भइरहेका छन् । 

संसदको कानुन समितिले गरेको अध्ययन र सरकारले बनाएको कार्यदलले विवाह गर्ने उमेर १८ वर्ष राख्न सुझाव दिएको छ । सो बिषयबारे सार्वजनिक वृत्तमा बहस भइरहेका बेला कानून समितिको आजको बैठकमा विवाह गर्ने उमेरबारे छलफल भएको हो । गृहमन्त्री लेखकले अन्य देशमा रहेको रोमियो जुलिएट ल अनुसार १६ देखि १८ वर्षको बीचमा युवायुवतीको शारीरिक सम्बन्ध भएमा त्यसलाई बलात्कार मान्न नमिल्ने व्यवस्था भएको बताउनुभयो ।

समिति बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद नागिना यादवले विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले विवाह गर्ने उमेर घटाउन आवश्यक भए पनि अनावश्यक विरोध भएको बताउनुभयो ।