मुख्य समाचार

संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गर्ने तयारी

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सरकारले ‘संवैधानिक परिषद् सम्बन्धी ऐन’ २०६६ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकबाट सो विधयेक पारित गर्ने तयारी भएको हो । 

बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्ने र त्यसलाई पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

त्यसअघि व्यवस्थापन कार्यतर्फ कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 

यस्तै, बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक पनि टेबुल गरिने संसद सचिवालयले जनाएको छ ।

यसैबीच, माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजेका लागि आह्वान गरिएको छ । राष्ट्रिय सभाको बैठकमा भौतिक, पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ । 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

साथै विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।