गणतन्त्रको पक्षमा समाजवादी मोर्चाको काठमाडौंमा प्रदर्शन
- काठमाडौंचार दल सम्मलित समाजवादी मोर्चाले काठमाडौमा गणतन्त्रको पक्षमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शनसहित सभा गरेको हो । सभालाई मोर्चामा आवद्ध दलका प्रमुख नेताले सम्वोधन गरेका थिए ।
उनीहरुले प्रतिगामी शक्तिको चलखेलप्रति सजग हुनुपर्ने बताएका छन् । सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनचाहना अनुसार गणतन्त्रवादी नेताले काम गर्न नसक्दा प्रतिगामी शक्तिले टाउको उठाउन थालेको बताउनुभयो ।
दाहालले दलहरुको कमजोरीको फाइदा उठाएर इतिहासलाई उल्टाउने प्रयास नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गर्नुभयो । सभामा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी शक्तिबारे जनतालाई सचेत गराउनुपर्ने बताउनुभयो ।
नेकपाका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रविरुद्ध विभिन्न शक्ति सक्रिय भएको आरोप लगाउनुभयो । नेपाली जनतालाई अब निरकुंश शासन स्वीकार्य नभएको चन्दको भनाइ थियो । मोर्चाको सभाअघि चार दलका नेता कार्यकर्ताले काठमाडौंको विभिन्न क्षेत्रबाट जुलुस निकालेका थिए । राजावादी समूहको गतिविधि बढिरहेका बेला गणतन्त्रको रक्षाका लागि भन्दै समाजवादी मोर्चाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो ।