मुख्य समाचार

प्रधानमन्त्री ओली र थाइल्याण्डकी समकक्षी शिनावात्राबीच भेटवार्ता

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे तोङ् तान् शिनावात्रासँग भेटवार्ता गर्नु भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका ओलीले समकक्षी शिनावात्रासँग आज भेट गर्नुभएको हो । दुई नेताबीचको भेटवार्ताका क्रममा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६वटा सहमतिपत्र आदाप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहाकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई लगायत सहभागी थिए । सम्झौतापछि दुवै प्रधानमन्त्रीबाट संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।दुई मुलुकबीचको सम्झौता पछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावात्राले आयोजना गरेको दिवभोजमा सहभागी हुनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।

दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गर्नुभयो । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिमस्टेकको छैटौँ शिखर सम्मेलनका अवसरमा गरिएको यो समझदारीपत्र तीन वर्षसम्म लागू हुनेछ ।