मुख्य समाचार

बक्यौता रकम उठाउन खोज्दा सरकारले हटायोः कुलमान घिसिङ

- असिम सापकोटा काठमाडौं

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुसँग बक्यौता रकम उठाउन खोज्दा सरकारले आफूलाई पदबाट हटाएको बताउनुभएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले बक्यौता असुली गर्न विद्युत नियमन आयोगलाई पत्राचार गरेपछि सरकारले आफूलाई पदबाट हटाएको बताउनुभएको हो ।

लोडसेडिङ अन्त्यकालागि आफूले इमान्दार प्रयास गरेको चर्चा गर्दै घिसिङले वर्तमान सरकार र उर्जामन्त्री आएपछि आफूलाई अनावश्यक दवाव दिइएको दावी समेत गर्नुभयो । विभागीय मन्त्रीले तेजोबोध गरेको उहाँको भनाइ थियो ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले मुलुकमा लोडसेडिङ अन्त्य भएपछि सबै क्षेत्रलाई फाइदा पुगेको विवरण समेत सार्वजनिक गर्नुभएको छ । आफू पदबाट हटेपछि विद्युत प्राधिकरण भताभुङ्ग हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

मुलुकमा लोडसेडिङको अन्त्य गरेपछि लोकप्रियता कमाएका घिसिङलाई पदावधि सकिनु चार महिनाअघि सरकारले चैत ११ गते पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध घिसिङले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधिन छ ।