सहकारी ठगी मुद्दामा रवि लामिछाने कारागार चलान
- भैरहवाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला कारागार चलान गरिएको छ । सोमबार बिहान उच्च अदालत तुल्सीपुरको बुटवल इजलासबाट आदेशको मिसिल प्राप्त भएपछि प्रहरीले उहाँलाई जिल्ला अदालत पेश गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेश गरेको थियो । अदालत पुर्याउने बित्तिकै लामिछानेलाई थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेलगत्तै कारागार चलान गरिएको थियो । डीएसपी कार्की नेतृत्वमै लामिछानेलाई तत्काल कारागार पुर्याएको थियो ।
जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । सो कारागारमा अहिले लामिछानेमात्रै रहेको प्रशासक भण्डारीले बताउनुभयो । ‘उहाँको स्वास्थ्य अवस्था नर्मल छ,’ भण्डारीले भन्नुभयो, ‘पूर्व गृहमन्त्री लामिछानेलाई अहिले ब्लक नम्बर ४ मा राखेका छौं । अहिले उक्त ब्लकमा उहाँमात्रै थुनुवा हुनुहुन्छ ।’
स्रोतका अनुसार उच्च अदालतले लामिछानेलाई थुनामा राखेर अनुुसन्धान गर्न आदेश गरेपछि जिल्ला कारागारमा उहाँका लागि छुट्टै कक्ष तयार गरिएको हो । लामिछानेलाई राखिएको कक्ष कारागार भवनभन्दा बाहिर रहेको छ ।
शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उहाँलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो ।
उहाँलाई अदालत लैजानु अघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
त्यस्तै जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।