मुख्य समाचार

फरक मत राख्नेमाथि राज्यले दमन गरेको राप्रपाको आरोप

- केएफएम डेस्क काठमाडौं

संवैधानिक राजसंस्था र हिन्दूराज्य लगायत माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ । यसअघि विभिन्न जिल्लामा कार्यक्रम गरेको राप्रपाले काठमाडौंमा आज शक्ति प्रदर्शनसहित शान्तिपूर्ण सभा आयोजना गरेको हो । सभालाई सम्वोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको पक्षमा लागेर फरक मत राख्ने व्यक्तिलाई कारवाही गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।

पछिल्लो समय देशव्यापी प्रर्दशनमा उत्रेको राप्रपाले सभा मार्फत राजसंस्था पुर्नस्थापनाको दबाब दिने प्रयास गरेको हो । यसअघि चैत १५ गते राप्रपाका केही नेताहरुको सहभागितामा संयुक्त आन्दोलन समितिले तिनकुनेमा गरेको सभा हिसांत्मक भएको थियो । यसैबीच, आजको सभामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले चैत १५ गतेको घटनाबारे निष्पक्ष आयोग गठन गर्न माग गर्नुभयो ।

यसअघि भृकुटीमण्डप गर्ने भनिएपनि स्थानीय प्रशासनको आग्रहपछि राप्रपाले बल्खुमा सभा गरेको हो । सभास्थल सारिएको बिषयलाई कमजोरी नठान्न उहाँले आग्रह गर्नुभयो ।

सभाअघि काठमाडौंका विभिन्न क्षेत्रबाट आएका जुलुस बल्खुमा जम्मा भएका थिए । कार्यक्रमलाई राप्रपाका पदाधिकारी र केन्द्रीय नेताहरुले सम्वोधन गरेका छन् । सो पार्टीले आगामी वैशाख ७ गतेदेखि निरन्तर विरोधका कार्यक्रम गर्ने जनाएको छ ।