सहकारीका पदाधिकारी फरार, बचतकर्ताको बिचल्ली
- तिलोत्तमाबुटवलको देवीनगरस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष फरार भएपछि बचतकर्ताको बिचल्ली भएको छ ।
बचतकर्ताको ठूलो रकम संकलन गरेको सहकारीका अध्यक्ष वसन्त भट्टराई र कोषाध्यक्ष आकाश भट्टराई एकाएक सम्पर्कविहीन भएपछि बचतकर्तालाई समस्या परेको हो । सहकारीले दैनिक पैसा संकलन गर्ने र बचत गर्ने गरेको थियो ।
२०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएर बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कार्यालय सञ्चालन गरिएको थियो । सहकारीमा २०८१ चैत ३१ गतेदेखि सूचना टाँस गरेर एकाएक बन्द गरिएको बचतकर्ताले गुनासो गरेका छन् ।
चैत ३१ गतेसम्म बजारबाट रकम उठाएर सोही दिन नै सूचना टाँस गरी बन्द भएपछि बचतकर्ता आश्चर्यमा परेका हुन् ।
कार्यालयको भित्तामा टाँसिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको, अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचतकर्ताबाट असहज परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ ।
उल्टै सूचनामा बचतकर्तालाई अध्यक्षको खोजी गर्न आवश्यक पहल गर्न अपिल गरिएको छ ।