मुख्य समाचार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त

- केएफएम डेस्क

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमाले सांसद रघुजी पन्त नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नु भएको हो । शिक्षामन्त्री विद्या भट्टराईले गत सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

नवनियुक्त मन्त्री पन्तको भोलि अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर कान्छाराम तामाङलाई बर्खास्त गर्नु भएको छ । आफूविरुद्ध अभिव्यक्ति दिएको भन्दै ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गर्नु भएको हो ।