पोखरामा १ अर्ब २९ करोड लगानीमा खानेपानी आयोजना बनाइँदै
- कास्कीपोखरा महानगरपालिकाभित्र ३ वटा खानेपानी आयोजना निर्माण गर्न त्रिपक्षीय समझदारी भएको छ । खानेपानी संस्थानको पानी नपुग्ने पोखराका ३ वटा ग्रामीण वडामा खानेपानी तथा ढल व्यवस्थापन विभागका २ आयोजना मार्फत खानेपानीको व्यवस्था गरिने भएको हो ।
पोखरा–११ मा जलवायु अनुकूलित बृहत् आयोजना अन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा–२१ र ३३ नम्बर वडालाई समेट्ने गरी केन्द्रीय खानेपानी आयोजना अन्तर्गत बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न बिहीबार त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र ३ वटै खानेपानी आयोजना अध्यक्षले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । निर्माण सक्न अनुमानित १ अर्ब २९ करोड ४९ लाख ५८ हजार ९ सय ७८ रुपैयाँ लाग्नेछ । यसबाट ५ हजार १ सय घरधुरी लाभान्वित हुने अनुमान छ ।
बृहत् भरतपोखरी, निर्मलपोखरी, कृष्ती खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ मध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार ८२८ रुपैयाँ स्रोत सुनिश्चित भएको छ ।
काँहुधरहरा खानेपानी आयोजनाका लागि ४९ करोड १७ लाख १७ हजार ६०३ रुपैयाँमध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपैयाँ, मट्टीखान खानेपानी आयोजनाको २८ करोड ५४ लाख ६५ हजार १७३ रुपैयाँमध्ये १९ करोड ७६ लाख ४१ हृजार ८७६ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ ।
बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजना अन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी संकलन तथा प्रशोधन गरिनेछ । त्यसपछि १७ किलोमिटर सिमलेससहित ३५ किलोमिटर लामो पाइपमार्फत घरघरमा पानी पुर्याइनेछ ।
यस आयोजनाबाट करिब २ हजार ४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समिति अध्यक्ष दाताराम आचार्यले बताउनुभयो । यस आयोजनामा २० देखि २ सय घनमिटरका ११ वटा ट्यांकी बन्नेछन् ।
काहुँधरहरा खानेपानी आयोजना अन्तर्गत काहुँमा प्रशोधन केन्द्र बनाएर १७ किलोमिटर पाइपलाइन मार्फत पानी वितरण गरिनेछ । करिब १ हजार ५ सय घरधुरी लाभान्वित हुने अनुमान छ । यस आयोजना अन्तर्गत ३ सय घनमिटरको एउटा र १ सय घनमिटरका २ वटा ट्यांकी निर्माण गरिनेछ ।
मट्टीखान खानेपानी योजना अन्तर्गत सेती खोलाबाट सम्पबेल मार्फत पानी पम्पिङ गरिनेछ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा संकलन गरेर पानी वितरण गरिनेछ । यसका लागि ३५ किलोमिटर लामो पाइपलाइन विस्तार हुनेछ । यस आयोजना अन्तर्गत ३५ र १ सय ५० घनमिटरका ८ वटा पानी ट्यांकी निर्माण गरिनेछ । यस आयोजनाबाट १ हजार २ सय घरधुरीलाई पानी वितरण गर्ने लक्ष्य छ ।
३ वटै आयोजना एक घर, एक धारा अवधारणा अनुसार सञ्चालन हुनेछन् । आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । ३ आयोजनाको कुल लागतको ९० प्रतिशत खर्च संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गर्नेछ । १० प्रतिशत जनसहभागिता मार्फत जुटाउनुपर्ने हुन्छ । सो १० प्रतिशत रकम महानगरपालिकाले ब्यहोर्ने नगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
ठूलो लगानीका आयोजनामा जनसहभागिता जुटाउन कठिन हुने भन्दै स्वच्छ खानेपानीको अधिकार प्रत्याभूति गर्न महानगरपालिकाले १० प्रतिशत रकम तिरिदिने उहाँले जानकारी दिनुभयो ।