मुख्य समाचार

माओवालदी केन्द्रले शिक्षक आन्दोलनलाई सहयोग गर्ने

- केएफएम डेस्ककाठमाडौं

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले शिक्षकहरुको जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन सहयोग गर्ने भएको छ । शिक्षा सम्बन्धी ऐन माग गर्दै झण्डै एक महिनादेखि काठमाडौंमा सडक प्रदर्शन गर्दै आएका शिक्षकहरुको अन्दोलनलाई सडक र सदन दुवै ठाउँबाट सहयोग गर्ने भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष पुष्प कमल दाहालले शिक्षक, चिकित्सकहरुले उठाएका मागमा आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौंमा दैनिक प्रदर्शन गर्दै आएका शिक्षकहरुको माग सम्बोधनका लागि सरकारले चासो नदेखाएको उहाँको भनाइ छ । शिक्षकहरुले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्ने तयारी गरेपनि ओलीले समस्या समाधन भन्दा प्रतिपक्षी दलको आलोचना गर्न समय खर्च गर्ने गरेको माओवादी अध्यक्ष दाहालले आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शिक्षकहरुको समस्या सम्बोधनका विषयमा दोहोरो चरित्र देखाएको दाहालले आरोप लगाउनुभयो । सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा ओलीले अभिव्यक्ति दोहोरो चरित्रको भएको दाहालको भनाइ छ । यता राष्ट्रिय शिक्षक महासंघले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलनका कार्यक्रम गर्ने अडान लिँदै आएको छ । उनीहरुले शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँगको छलफल सकारात्मक नभएको बताउँदै आएका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग आज छलफल भएको छ । छलफलका क्रममा मन्त्री पन्तले समस्या समाधानका लागि निरन्तर संवाद गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो । मन्त्रीको आश्वासन पाएपनि शिक्षकहरुले आफूहरुको अडान कायमै रहेको बताएका छन् ।