शिक्षक र प्रहरीबीच वानेश्वर क्षेत्रमा झडप, संसदमा सत्तापक्ष र प्रतिपक्षको जुहारी
- काठमाडौंकाठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच नयाँ वानेश्वर क्षेत्रमा झडप भएको छ ।
आन्दोलनरत शिक्षकहरूले सुरक्षा घेरा भत्काउन खोजेपछि झडप भएको हो । सो क्रममा प्रहरीले पानीको फोहोरा हानेकोे थियो भने शिक्षकको तर्फबाट ढुंगामुढा भएको थियो । नेपाल शिक्षक महासंघका अनुसार २५ जना भन्दा बढी शिक्षकशिक्षिका घाइते भएका छन् ।
उनीहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्टरमा उपचार भइरहेको छ । सो क्रममा समाचार संकलनमा रहेकी प्राइम टेलिभिजनकी सञ्चारकर्मी सविना कार्कीको आँखामा गहिरो चोट लागेको बताइएको छ । सरकारसँगको छलफल निष्कर्षविहीन भएको भन्दै शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।
सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न दिएको आदेशलाई ध्यानमा राख्दै सरकारले वार्ता अगाडि बढाएपनि शिक्षकसँग सहमति हुन सकेको छैन । उधारो सहमति नगर्ने भन्दै आएका शिक्षकहरुले वार्ता र आन्दोलनलाई सँगै अघि बढाउने अडान लिएका छन् ।
संसदमा सत्तापक्ष र प्रतिपक्षको जुहारी
सडकमा शिक्षकको आन्दोलन चर्किरहेका बेला संसदभित्र भने सत्तारुढ दल र प्रतिपक्षी दलबीच आरोप–प्रत्यारोप चलेको छ । ती दलका सांसदले शिक्षक आन्दोलनको सन्दर्भमा आरोप प्रत्यारोप गरेका हुन् । सत्तारुढ एमालेका सांसद पदम गिरीले विगतको सरकारका पालामा गरिएको सहमतिका कारण अहिलेको परिस्थिति आएको आरोप लगाउनुभयो ।
एमाले सांसद गिरीको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले भने आपत्ति जनाएका थिए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले विगतको सरकारलाई दोष दिन नमिल्ने बताउनुभयो ।
राष्ट्रिय महत्वका मुद्दामा पहल कदमी लिन नभइ संसदभित्र सत्तापक्ष र प्रतिपक्षबीच विगतमा जस्तै बजेटको अधिवेशनमा पनि आरोप प्रत्यारोप चलिरहेको हो । यसैबीच एमाले सांसद ठाकुर गैरले पछिल्लो वक्तव्यको सन्दर्भ जोड्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाहीको माग गर्नुभयो ।
पूर्वराजा शाहले भारतको काश्मिरमा भएको आतंकवादी हमलाको निन्दा गर्दै सार्वजनिक गरेको वक्तव्यमा श्री ५ महाराजधिराज भन्ने शव्दावली प्रयोग गरिएको थियो । यसैबीच, नेपाली कंग्रेसका सांसद श्याम घिमिरेले गत चैत १५ गतेको लुटपाटमा कंग्रेस नेताका छोरा समेत संलग्न भएको भनी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले लगाएको आरोपको प्रतिवाद गर्नुभएको छ ।
यसैबीच, प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक सम्बन्धि समितिको प्रतिवेदन र नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदन पेश भएका छन् । त्यस्तै, नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, नेपाल कानून व्यवसायी परिषद् दोस्रो संसोधन विधेयक तथा बैंकिङ कसूर तथा सजाय दोस्रो संसोधन विधेयकसम्वन्धि प्रस्ताव पेश भएका छन् । राष्ट्रियसभामा भने पर्यटनसम्वन्धि विधेयक पेश भएको छ ।