आज एकै दिन दुई वटा विधेयक पारित
-संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाबाट आज एकै दिन दुई वटा विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकले भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको भन्सार विधेयक बहुमतका आधारमा पारित भएको हो । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुमा रहेको बेथिति हटाउन नयाँ कानूनी व्यवस्थाका लागि विधेयक ल्याइएको बताउनुभएको थियो ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पेश गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित भयो । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिको सुधार गर्ने र मुलुकको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । प्रतिनिधि सभाबाट पारित दुवै विधेयक अब राष्ट्रिय सभाबाट समेत पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपश्चात् ऐनको रूपमा कार्यान्वयनमा आउनेछन् ।
यसैबीच, यही वैशाख १९ गते शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । नयाँ बजेट संसदमा पेश गर्नुअघि सरकारको बार्षिक नीति तथा कार्यक्रम ल्याउने प्रचलन छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने तय भएको हो । नीति तथा कार्यक्रमको प्रस्तुत हुने मिति र राष्ट्रपति कार्यालयको पत्रबारे सांसदलाई जानकारी गराइएको छ ।