मुख्य समाचार

कालिङ्गा विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु भएको घटनामा भारतद्धारा दुःख व्यक्त

- केएफएम डेस्ककाठमाडौं

भारतीय विदेश मन्त्रालयले ओडिसास्थित कालिङ्गा विश्वविद्यालयमा नेपाली छात्रा प्रिशा साहको मृत्यु भएको घटनामा दुःख व्यक्त गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । त्यस्तै सो घटनाको छानबिन गर्न राज्य सरकार, कालिङ्गा विश्वविद्यालयको व्यवस्थापन र नेपाल सरकारसँग निरन्तर सम्पर्कमा रहेको विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

अन्तराष्ट्रिय विद्यार्थीको सुरक्षा र सुस्वास्थ्यको लागि भारत सरकार गम्भीर रहेको विदेशमन्त्रालयले जनाएको छ । यसअघि ओडिसा सरकारले नेपाली छात्रासाहको शंकास्पद मृत्यु भएको घटनाको विषयलाई छानविन गर्न आदेश दिएको थियो । राज्य सरकारले घटनामा दुःख व्यक्त गर्दै प्रिसा साहको मृत्यु कारण बुझ्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।

यता नेपालको परराष्ट्र मन्त्रालयले पनि भारत सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जनाएको छ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले सामाजिक सञ्जालमार्फत साहको मृत्युको घटनाले आफु मर्माहत भएको बताउँदै छानविनका लागि पहल सुरु भएको जानकारी दिनुभएको हो । बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा हिजो साँझ मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार एक्लै कोठामा बस्दै आएकी प्रिसा मृत भेटिएकी हुन् ।

यसअघि गत फागुनमा रुपन्देहीकी प्रकृति लम्साल पनि सोही होस्टलमा मृत भेटिएकी थिइन् । झण्डै १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने सो कलेजमा पुनः यस्तो घटना दोहरिएपछि नेपाली विद्यार्थीहरू त्रसित भएका छन् ।