मुख्य समाचार

नीति तथा कार्यक्रम दृढतापूर्वक समर्थन गर्न प्रधानमन्त्री ओलीको आग्रह

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि आएको बताउनुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एमाले संसदीय दलको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम सहि भएको बताउँदै उहाँले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले विपक्षीको काम नै विरोध गर्ने भएकाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सही भएको दाबी गर्नुभयो ।

यस्तै, प्रधानमन्त्री ओलीले संसद्का गतिविधिमा अझ प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुती प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको उहाँको भनाई थियो । पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रुपमा सहकार्य, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रीकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति बताउनुभयो । उहाँले नेपालले कसैको पक्षमा नलागी असंलग्नताको नीति अवलम्वन गर्दै आएको बताउनुभयो ।