चैत १५ को प्रदर्शन ट्रेलर मात्रै होः विक्रम पाण्डे
- काठमाडौंराजतन्त्र पक्षधरको आन्दोलन मत्थर हुँदै गएको टिप्पणी भइरहेका बेला नवराज सुबेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिले नयाँ चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।
राजतन्त्र समर्थित दल र समूहको सहभागितासहित समितिले भोलि काठमाडौंमा आन्दोलन घोषणा गर्न लागेको हो । घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट समेत सहभागी हुने बताइएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक भएपछि राजावादी आन्दोलन मत्थर भएको थियो ।
प्रदर्शनका क्रममा पक्राउ परेका कयौं नेता कार्यकर्तालाई हिरासतमा राखेर विभिन्न मुद्धामा अनुसन्धान भइरहेको छ । यसैबीच, राप्रपाका सांसद विक्रम पाण्डेले चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै भएको बताउनुभएको छ । राजतन्त्र फर्किन नसक्ने भन्दै अन्य दलका सांसदले दिएको अभिव्यक्तिमा टिप्पणी गर्दै सांसद पाण्डेले अहिलेको अवस्था गणतन्त्रकै कारण निम्तिएको समेत बताउनुभयो ।
गणतन्त्रवादी दल र तिनका नेताले राजावादी आन्दोलनको औचित्य नभएको बताइरहँदा राप्रपाका सांसदको सो अभिव्यक्ति आएको हो ।