मुख्य समाचार

राजावादी दल र समूहले जेठ १५ बाट अनिश्चितकालिन आन्दोलन गर्ने

- केएफएम डेस्ककाठमाडौं

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेबाट राजतन्त्र वहालीको माग गर्दै अर्को चरणको आन्दोलनको घोषणा गरेको छ ।

 गणतन्त्र दिवस मनाइने जेठ १५ गतेबाट शुरु हुने अर्को चरणको आन्दोलन आफूहरुको एजेन्डा पुरा नभएसम्म जारी रहने समितिमा आबद्ध नेताहरुको भनाइ छ । घोषणासभामा बोल्दै समितिका संयोजक सुवेदीले आन्दोलनका लागि विभिन्न दल र समूहबीच समझदारी भएको बताउनुभयो । गणतन्त्रवादी नेताले लोकतन्त्रको आवरणमा लुटतन्त्र मच्चाएको संयोजक सुवेदीको आरोप छ ।

एकअर्काको अस्तित्व स्वीकार्न नसकेका राजावादी शीर्ष नेताले पहिलो पटक एकै मञ्चमा उभिएर आन्दोलनको घोषणा गरेका हुन् । घोषणासभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरवहादुर विष्ट लगायत सहभागी भएका थिए । राप्रपा अध्यक्ष लिङदेनले राजतन्त्र पक्षधरवीचको ध्रुविकरण अघि बढाउनुपर्ने बताउनुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । राजावादी शक्ति एक ठाउँमा उभिनु सकारात्मक भएको उहाँले बताउनुभयो ।

समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग समेत गरेको छ । सो दिनको प्रदर्शन हिंसात्मक भएपछि राजावादी आन्दोलनमाथि नकारात्मक टिप्पणी हुँदै आएका छन् ।