जिल्ला अधिवेशनमा भएका झडपले एमाले वृतमा चिन्ता
- काठमाडौंपछिल्लो साता सत्तारुढ एमालेका जिल्ला तह र संगठनका अधिवेशनमा झडप र कुटपिट जस्ता घटना भएका छन् । वैचारिक बहस भन्दा पनि नेतृत्व चयनमा गुट–उपगुटले प्रश्रय पाउँदा विभिन्न जिल्लामा नेता कार्यकर्ताबीच कुटपिट र तोडफोडका घटना भएको हो । केन्द्रीय नेताले आफू अनुकूल व्यक्तिलाई नेतृत्व ल्याउन खोज्दा र आन्तरिक लोकतन्त्रको विधिलाई अस्वीकार गर्दा यस्ता घटना भएको भन्दै एमाले वृत्तमा चिन्ता व्यक्त भएको छ ।
एमालेलाई मुलुकको सबैभन्दा व्यवस्थित पार्टी भन्ने गरिन्छ । संगठनका गतिविधि र मातहतका निकायलाई प्रभावकारी र चलायमान बनाउने मामिलामा अन्य दल भन्दा एमाले अगाडि छ । तर, पछिल्लो समयमा एमालेका जिल्ला अधिवेशनमा भएका विवाद, झडप र कुुटपिटका घटनाले तल्लो तहका कमिटीमा समेत गुुट–उपगुटको राजनीति हावी हुँदै गएको अनुुमान लगाउन कठिन छैन । हुन त अध्यक्ष केपी ओली लगायत नेताले एमालेभित्र गुटउपगुट नभएको दाबी पटक पटक गर्दै आएका छन् ।
केही समयअघि अध्यक्ष ओलीले भनेका थिए, ‘आजको वर्तमान एमालेमा त्यहाँ कुनै प्रकारको गुटबन्दी छैन, पक्ष विपक्ष छैन, प्रधानमन्त्री ओलीले भने, ‘सबै एकजुठ छन्, स्वार्थका लागि कसैले यस्तो–उस्तो नगुर्नहोस् । हुन्छ नी स्वार्थका लागि यसो गुट बनाएझै, खेल्न खोजेझै त्यस्तो नगर्नुहोला ।’
वडा तहदेखि पालिका र जिल्ला अधिवेशनमा जुुटेपनि एक साताको अवधिमै ताप्लेजुुङ, धनुुषा र पर्वतमा विवाद मात्र भएन कुुटपिटका अस्वाभाविक घटना भएका छन् । पार्टीका अधिकांश जिल्लामा अधिवेशन मार्फत नेतृत्व टुुंग्याएको एमालेले आन्तरिक विवादले स्थगन भएका केही जिल्लामा अधिवेशन सुरु गरेको थियो । तर, अधिवेशनका क्रममा भएका विवाद सुल्झिनुको सट्टा उल्टै कुुटपिटका घटना सतहमा देखिए । जसले गर्दा पार्टीको आन्तरिक लोकतन्त्रलाई खुम्चाउने गतिविधिले प्रशय पाएको टिप्पणी नेताहरुले गर्न थालेका छन् ।
ताप्लेजुुङमा १९ बैशाखमा आयोजित राष्ट्रिय युवा संघको अधिवेशनमा दुुई समूूहबीच भएको विवादले हिंसात्मक रुप नै लियो । अध्यक्ष मण्डलले एकलौटी नाम घोषणा गरेको भन्दै दुुई समूहबीच उत्कर्ष विवादले कुुर्सी हानाहान मात्र भएन केही नेताहरु घाइते भएपछि विथोलिएको अधिवेशन स्थगित नै हुनपुुग्यो । यद्यपि, पछि ४१ सदस्यको नाम सार्वजनिक गरिएको राष्ट्रिय युवा संघले जनाएको छ । तल्लो तहसम्म संस्थापन र इतर पक्ष भन्दै गुटउपगुुटमा सक्रिय बन्नुु र त्यसमा नेतृत्व तहबाट समेत हस्तक्षेपका कारण यस्ता गतिविधि भइरहेका एमालेका कतिपय नेता बताउँछन् ।
आखिर पार्टीका अधिवेशनमा झडप र कुटपिटका घटना किन हुन्छन् भन्ने प्रश्नमा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ भन्छन्, ‘आन्तरिक लोकतन्त्र मजबुत हुने भन्दा पनि आन्तरिक लोकतन्त्रमा हस्तक्षेप हुने, खासगरि आफू हुनैपर्ने र तल सदस्यहरुको मतलाई कदर गर्ने भन्दा जबरजस्ती आएको हुनुपर्ने र त्यो हुनका लागि नेतृत्व तहबाट पनि हस्तक्षेप हुने खालको प्रवृत्तिको कारणले यस्तो हुने हो । केन्द्रीय नेतृत्वले हामी गुटबन्दीमा छैनौं भनेपनि तलका सदस्यहरु केन्द्रीय नेतृत्वको नाम जोडेर म चाही फलानोको भनेर चुनाव लडिरहेको पाइन्छ ।’
२० बैशाखमा सुरु धनुषाको आठौँ जिल्ला अधिवेशनमा पनि चर्को विवाद मात्र भएन, कुटपिट समेत भयो । जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा भएको अधिवेशनमा उम्मेदवारहरुको अन्तिम नामवली सार्वजनिक भएपछि दुुई पक्षबीच विवाद उग्र बन्यो र केही स्थानी नेताहरु घाइते भए । नेतृत्वलाई लिएर सहमति नहुँदा निर्वाचनमा जाने भनिए पनि उम्मेद्वारको नामवली विवादले हानाहानको अवस्था सिर्जना भयो ।
पार्टीमा रहेका गुट–उपगुटले पार्टीलाई कमजोर बनाउने र त्यसलाई रोक्न नेतृत्वले पहलकदमी लिनुुपर्ने नेताहरुको भनाइ छ । पार्टी स्थायी कमिटी सदस्य सीताकुमारी पौडेल चुनाव नगर्ने, कारबाही नगर्ने भयो भने यसको असर पर्ने बताउँछिन् । ‘पार्टीमा विचारको गुट छैन । तर कसैले गटबन्दी बनाउँछ, नेतृत्वको निर्देशन मान्दैन भने त्यसलाई त नियन्त्रण गर्नेपर्छ, उनले भनिन् ।’
ताप्लेजुुङ र धनुुषापछि पर्वतमा गत बुुधबार भएको अधिवेशनमा समेत झडपका घटना रोकिएनन् । अधिवेशनका क्रममा गण्डकी प्रदेश कमिटी र पर्वत जिल्ला कमिटीभित्रको विवाद सतहमा पोखिएको हो । सो घटनामा जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी, प्रदेश कमिटी सदस्य अर्जुुन पौडल लगायत नेता घाइते भए । घटनापछि जिल्ला र प्रदेश कमिटीले विज्ञप्ति नै जारी गर्दै आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
जिल्ला कमिटीले छानबिन गर्न केन्द्रीय कमिटीलाई नै गुहारेको छ । तीन जिल्लामा भएको घटनाले एमालेको आन्तरिक लोकतन्त्रलाई नकारात्मक असर पारेको नेताहरुको बुुझाइ छ । झडप र विवाद नभई लोकतान्त्रिक विधि अवलम्बन गरेर नेतृत्व चुन्ने र अधिवेशनलाई सौहार्द बनाउनुुपर्ने जिल्ला स्तरीय नेता बताउँछन् । एमालेको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले भने, ‘अधिवेशनका क्रममा भएका घटनाले पक्कै पनि गलत सन्देश जान्छ नै । यो पक्कै पनि राम्रो होइन् । त्यसो नगरेर सौहार्दपुर्ण वातावारणमा संवाद, छलफल गरी समस्या समाधान गर्नुपर्छ । मलाई विश्वास छ, संवादमार्फत अहिलेको समस्या समाधान हुनेछ ।’
पार्टीभित्र अनुुशासन कम हुँदै जानु, आन्तरिक लोकतन्त्रलाई कायम नगर्नु जस्ता प्रवृत्ति मौलाएको हो । एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा केन्द्रीय तहका नेताहरुकै हस्तक्षेपले अहिलेको स्थिति आएको बताउँछन् ।
एकातर्फ पार्टीमा लोकतान्त्रिक विधि र आलोचनात्मक दृष्टिकोणको अभाव भएको भन्दै एमाले नेतृत्वको आलोचना हुँदै आएका छन् भने अर्कोतर्फ जिल्ला तहमा देखिएका झडपका घटनाले पार्टीको छवि धुमिल गराउने जोखिम बढाएको छ । पार्टी कमिटीका अधिवेशनमा वैचारिक बहसलाई भन्दा नेतृत्व चयनको मुद्दालाई मात्र प्राथमिकता दिने प्रवृत्तिले अन्य दललाई जस्तै एमालेलाई पनि अप्ठ्यारो पारेको हो ।