मुख्य समाचार

कोशी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

- पर्वत पोर्तेलविराटनगर

कोशी प्रदेश सभाको सातौं अधिवेशन आइतबार सुरु हुँदैछ । प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक आज अपराहृन २ बजे बस्नेछ । 

सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रारम्भिक बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त बैठक आहृवानसम्बन्धी पत्रहरू पढेर सुनाइनेछ । 

यो औपचारिक प्रक्रिया अन्तर्गत प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम आहृवान गरेका बैठकसम्बन्धी पत्र सभामा प्रस्तुत गरिने छन् । त्यसपछि सरकारले ल्याएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२’ प्रदेश सभामा टेबुल गरिने कार्यक्रम छ । 

यो अध्यादेश प्रदेश सरकारका तर्फबाट संविधानको धारा २०२ को प्रयोग गर्दै ल्याइएको हो, जसमा हालका कतिपय कानुनी व्यवस्थामा आवश्यक संशोधन प्रस्ताव गरिएको छ । 

साथै, सातौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुले धारणा राख्ने कार्यक्रम तय गरिएको छ । प्रमुख दलहरुका तर्फबाट सरकारको आगामी नीति, कार्यक्रम र बजेटको प्राथमिकताबारे प्रारम्भिक टिप्पणी आउने सम्भावना छ । 

सातौं अधिवेशन विशेषगरी आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सम्वन्धी छलफल र पारित गर्ने कार्यसूचीका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।