मन्त्रिपरिषद बैठक बस्दै
-गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ कांग्रेस र एमालेबीच विवाद भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको हिजोाको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति देउवा असन्तुष्ट हुनु भएको छ ।
प्रधानमन्त्रीले बोलाउँदा पनि हिजो कांग्रेस सभापति देउवा बालुवाटार जानु भएन । गत चैत ११ मा गभर्नर सिफारिस समिति गठन भए पनि अहिलेसम्म एक पटक पनि बस्न सकेको छैन । पछिल्लो पटक एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले गरेको प्रस्ताव अनुसार हिजोसम्म सिफारिस समितिको बैठक बस्ने र मन्त्रिपरिषद्ले नियुक्त गर्ने तयारी थियो ।