अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने
- पोखराअन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको छ । सो अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने भएको छ । आधार शिविरमा पहिलोपटक महोत्सव गर्न लागिएको हो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हिरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत बताइएको हो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाललाई पहिलो मानव पाइला परेका कारण जेठो हिमाल पनि भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोह गरेको थियो ।
हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए । आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । महोत्सवमा फ्रान्स, युरोप, अमेरीका लगायत १२ देशका राजदूतलाई निमन्त्रणा गरिएको लामिछानेले जानकारी दिनुभयो ।
नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनका परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली पदयात्रामा सहभागी हुनेछ ।
आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौड समेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ ।
यस्तै आधार शिविरमा निर्माण भएको खुला संग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरिएको छ । सो पदमार्गको साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।