मुख्य समाचार

नागढुंगा-नौबिसे सडक आजदेखि थप पाँच दिन बन्द

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड आजदेखि थप पाँच दिन बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले पिप्लामोड खण्ड आजदेखि थप पाँच दिन बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द रहने जानकारी दिनुभयो । 

यसअघि जेठ १० देखि आइतबारसम्म दैनिक साढे चार घण्टा सो खण्ड बन्द हुँदै आएको थियो । सो खण्डमा अहिले सवारी आवागमन रोकेर सडक निर्माण तथा सुधारको काम भइरहेको छ । 

यसअघि सडक बन्द गर्दा काम नसकिएपछि थप पाँच दिन त्यही समय राखेर सवारी आवागमन बन्द गरी काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका ओझाले बताउनुभयो । नागढुंगा चेकपोस्टबाट १ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै थप गरिएको समयभित्र काम सकिने उहाँको भनाइ छ ।

सो अवधिभर सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको हो । आयोजनाले साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक रुटका रट्ठपमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने सवारी साधनलाई धादिङको खानीखोलामा रोकेर काम गरिएको आयोजनाले जनाएको छ ।