प्रतिपक्षीको नाराबाजी र बहिष्कारकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन
- काठमाडौंविपक्षी दलको अवरोध र बहिष्कारका बीच पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अघि बढाउनुभएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर विरोधमा उत्रिएको रास्वपाका सांसदहरुले वेल अगाडी उभिएर नारावाजी गरेका छन् भने राप्रपाले बैठक बहिष्कार गरेका बेला सभामुख घिमिरेले बैठक सञ्चालन गर्नुभएको हो । बैठकमा आज निजामति सेवासम्बन्धि विधेयकको प्रतिवेदन पेश हुनुका साथै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएको पानीजहाजसम्वन्धी विधेयक अघि बढाइएको छ । त्यस्तै बजेटमाथि विभिन्न दलका सांसदले धारणा राखेका छन् ।
यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसैबीच विपक्षीको अवरोध भएपनि संसद सञ्चालन गरिएको भन्दै दलका सांसदहरुले विरोध जनाएका छन् । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले विपक्षी दलको नारावाजीका बीच बैठक सञ्चालन गर्न नहुने बताउनुभयो । सहमति गरेर सहज रुपमा संसद चलाउनुपर्ने उहाँको भनाइ थियो ।
रास्वपाका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेपनि सभामुख घिमिरेले संसदको नियमित कार्यसूचि अनुसार बैठकलाई निरन्तरता दिएपछि राप्रपाले भने बैठक बहिष्कार गरेको थियो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बैठक सञ्चालनको विषयमा प्रश्न उठाउनुभयो ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेका छन् । यता, सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले भने रास्वपाले अनावश्यक रुपमा गृहमन्त्रीको राजिनामा मागेको आरोप लगाएका छन् । रास्वपाले अरुलाई नैतिकताको पाठ पढाउन नमिल्ने कांग्रेस सांसद नागिना यादवको भनाइ छ ।
सत्तारुढ दलसँग दुई बूँदे सहमतिपछि प्रमुख विपक्षी दल माओवादी केन्द्र भने संसद बैठक सञ्चालन गर्न सहमत भएको छ ।