मुख्य समाचार

कांग्रेसको महाधिवेसन २०८२ मंसिरमा संभव छैनः महत

- प्रकास बराल

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी मंसिरमा कांग्रेसको महाधिवेसन हुन नसक्ने बताउनु भएको छ । बागलुङमा आयोजित कार्यक्रममा उहाँले महाधिवेशनका लागि कांग्रेसमा तयारी नपुगेको बताउनुभयो । महतले एकबर्षपछि सम्ममा महाधिवेसन गर्न सकिने गरी तयारी भएको बतउनुभयो । 

पार्टीको विधान अनुसार केन्द्रीय समितिको चार बर्ष पदावधि भएपनि एक बर्ष थप गर्न मिल्ने प्रावधानमा टेकेर २०८३ को मंसिर भित्र अधिवेसन गर्ने तयारी भएको उहाँको भनाइ थियो । केही नेताले समयमै महाधिवेसन गर्नुपर्छ भनेपनि तत्काल काम भ्याउन नसकिने उहाँले जीकिर गर्नुभयो । बोल्ने अधिकार सबैलाई भएपनि काम गरेर अधिवेसन गर्न समय लाग्ने उहाँको तर्क थियो ।

महतले भातृसंगठनहरुको अधिवेसन भने छिटै गर्ने बताउनुभयो । उहाँले सबैखाले बिबाद मिलाएर पार्टीले छिटै अधिवेसनको निर्णय लिने पनि उल्लेख गर्नुभयो । नेविसंघ, महिला संघ, तरुणदल लगायतका भातृसंगठनहरु लामो समयदेखि तदर्थ समितिको रुपमा चलेकोले अधिवेसन मार्फत चुस्त समिति ल्याएर चलायमान बनाउन पार्टीले पनि पहल गरेको महतको भनाइ छ ।