आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै चर्को असन्तुष्टी
- काठमाडौंसत्तारुढ नेपाली कंग्रेस र एमालेले आगामी आर्थिक वर्षको बजेटलाई लिएर चर्को असन्तुष्टी व्यक्त गरेका छन् । सीमित नेताको जिल्लामा मात्र केन्द्रित गरेर बजेट ल्याइएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि बहस गर्दै सत्तारुढ कंग्रेस र एमालेका सांसदले बजेट विनियोजनमाथि प्रश्न उठाएका छन् । सत्तारुढ नेपाली कंग्रेसका सांसद सुनिल शर्माले बजेटमा केही जिल्लालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाउनुभयो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि प्रतिपक्षी दलको असन्तुष्टी र विरोध स्वभाविक भएपनि गठबन्धन दलकै सांसदहरुको रोष प्रकट भएको हो । कंग्रेस सांसद पूर्णवहादुर तामाङले बजेटमा अर्थमन्त्री बिष्णु पौडेल र शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं र रुपन्देही बाहेक अन्य जिल्लालाई ध्यान नदिएको बताउनुभयो ।
एमाले सांसद सुर्यवहादुर थापाले पनि राष्ट्रिय योजना आयोगको सुझाव विपरित टुक्रे योजनामा बजेट विनियोजन गरिएको भन्दै आपत्ति जनाउनुभयो । नेता विशेषको नाममा जथाभावी बजेट ल्याइएको उहाँको भनाइ थियो ।