मुख्य समाचार

विनयी खोलामा १० औं पटक डाइभर्सन निर्माण, एकतर्फी सवारी सञ्चालन

- नारायण शर्मानवलपरासी

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

बाढीका कारण सो ठाउँमा निर्माण गरिएको डाइभर्सन बगाएपछि अबरुद्ध रहेको सडक आज साँझबाट एकतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसािर विनयी खोलामा हालसम्म १० पटक डाइभर्सन निर्माण गरिएको छ । डाइभर्सन निर्माण भएसँगै गैडाकोटदेखि दुम्कीवास क्षेत्र सम्मको ५० किलोमिटर क्षेत्रमा रोकिएका ट्रक तथा लामो दुरीका सवारी साधन गन्तव्यतर्फ अघि बढेका छन् ।

सो क्षेत्रमा हरेक सांझ ७ बजेवाट भोलिपल्ट बिहान ५ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । विनयी खोलाको फलामे पुल गत पुस २६ गते भाँच्चिएपछि त्यहाँ डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको छ ।

यसैबीच नवलपरासीस्थित दाउन्ने सडकखण्डमा वर्षाले हिलोमा फसेका १२ सय सवारी सधान वारपार भएको छ । नौ दिनदेखि पश्चिम नवलपरासीको बर्दघाट आसपासमा रोकिएका ४ सय मालबहाक ट्रक र अन्य ८ सय गाडी नारायणगढतर्फ गएको प्रहरीले जनाएको छ । वर्षा रोकिएर सुख्खा भएपछि राजमार्गमा फसेका गाडी निकालिएको थियो । नारायणगढबाट बुटवलतर्फ जाने गाडीहरु भने प्रहरीले रोकिराखेको छ ।