असार १५ मा विद्यालय शिक्षा विधेयक पारित हुने सम्भावना टर्यो
-विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित नहुने देखिएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही विषयमा सहमति जुट्न नसकेपछि केही दिन अझ छलफल गर्नुपर्ने देखिएको समिति सभापति अम्मर बहादुर थापाले बताउनुभयो । उहाँले एक साता पछि धकेलिन सक्ने संकेत गर्नु भएको छ । समितिका सबै सदस्यले कम्तीमा विधेयकमा समेटिएका विषयबारे जानकारी पाउनु पर्ने उहाँको भनाइ छ । गत जेठ ३१ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप प्रस्ताप समितिमा पेश गर्नु भएको थियो ।
समितिले पनि कतिपय बुँदामाथि संशोधन राखेपछि छलफल लम्बिएको हो । सरकार र शिक्षक महासंघबीचको सहमति अनुसार असार १५ गतेभित्र विधेयक पारित गर्ने भनिएपनि सम्वन्धित संसदीय समितिमा केही बिषय टुंगो लाग्न सकेको छैन । निजी विद्यालयको संरचना, प्रारम्भिक बाल विकास (इसीडी) र शिक्षक अनुमतिपत्रको विषयमा सहमति हुन नसकेको बताइएको छ । त्यस्तै, निजी विद्यालयलाई कम्पनी मोडलमै चलाउने कि गुठीअन्तर्गत भन्ने विषय र इसीडीलाई विद्यालय मातहत राख्ने कि नराख्ने भन्ने विषयमा सहमतिको प्रयास भइरहेको छ । सहमति नभएको बिषयमा थप छलफलका लागि आज विहान ११ बजेपछि समितिको बैठक बस्दैछ ।