मुख्य समाचार

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि स्पेन प्रस्थान

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

 चार दिने भ्रमणका लागि २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ जानुभएको हो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने कार्यक्रम छ । भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । सो अवसरमा सहयोग र सम्बन्ध विस्तार सम्बन्धी केही महत्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपालबाट हुन लागेको उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेन लगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ । सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्पेनमा झण्डै २० हजार नेपाली विभिन्न पेशा व्यवसायमा संलग्न रहेको अनुमान छ ।