लुम्बिनी प्रदेशको बजेट आजै पास गर्ने तयारी, विपक्षीको विरोध जारी
- बुटवललुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने तयारी छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा मन्त्रालयगत छलफल सकेर बजेट पारित गर्ने गरी सत्ता गठबन्धनका दलबीच सहमति भएको छ ।
बुधबार दिउँसो १२ बजे बस्ने बैठकमा आगामी आव ‘२०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विभिन्न मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि समुहकृत छलफल हुनेछ ।
छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले बताउनुभयो । प्रदेश सभाको बुधबार कै बैठकबाट आर्थिक ऐन संशोधन गर्ने पनि सरकारको तयारी छ ।
आर्थिक ऐन संशोधन गरेपछि प्रदेश सरकारले बजेट निर्माणका क्रममा छुटेका प्रदेश सभा सदस्यका योजनाहरुको सूची प्रदेश सभामै पेश गरेर पारित गर्ने तयारी पनि छ ।
छुटेका योजनाहरु प्रदेश सभाबाटै समावेश गरेर बजेट र योजना एकैसाथ पारित गर्ने सरकार पक्षीय प्रदेश सभा सदस्य, मन्त्री, आर्थिक मामिला मन्त्री र मुख्यमन्त्रीले सहमति गरेका थिए । त्यही अनुसार अहिले छुटेका योजनाहरु प्रदेश सभाबाटै पारित गर्ने र आर्थिक ऐन संशोधन गरेर पहिलो चौमासिकमै रकमान्तर गरेर छुटेका योजनालाई बजेट व्यवस्थापन गर्ने सहमतिपछि मंगलबारदेखि बजेटमाथिको छलफल सुरु भएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको र मन्त्रालयगत छलफलपछि आर्थिक मामिलामन्त्रीले जवाफ दिएपछि बजेट पारित हुने बताउनुभयो । बजेटमा विपक्षी दलहरुले विरोध गर्दै आएका छन् ।
माओवादीसहितका विपक्षी दलहरुले बजेट पुर्नलेखन गर्नुपर्ने माग गरिरहेका छन् । विपक्षीको मागमा सरकार सहमत नभएपछि मंगलबारको छलफल नै बहिस्कार गरेका थिए । तर, सरकारलाई समर्थन गरिरहेको लोसपाले मंगलबार नै समर्थन फिर्ता लिएर प्रतिपक्षको बेच्चमा बसेपछि बजेटमाथिको छलफल अघि बढेको थियो ।
लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । बजेटमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार र चालूतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार विनियोजन गरेको छ ।
त्यस्तै, स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रकम विनियोजन गरेको छ । आन्तरिक राजश्व ७ अर्ब ७८ करोड ४ लाख रुपैयाँ राजश्व संकलन गर्ने र चालू आवको बचत २ अर्ब परिचालन गर्ने बजेटको लक्ष्य छ ।