मुख्य समाचार

लमजुङ-मनाङ सडकमा रातको समय सवारी सञ्चालनमा रोक

- आश गुरुङलमजुङ

जिल्ला प्रशासन कार्यालय मनाङले चामे–खाङसार सडक र बेंसीसहर–चामे सडकमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । वर्षाका कारण आउन सक्ने बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समय यातायात सञ्चालनमा रोक लगाएको मनाङ प्रशासनले जनाएको हो । 

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले केही दिनअघि मनाङ जिल्ला सुरक्षा समिति र लमजुङ जिल्ला सुरक्षा समितिबीच अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकले गरेको निर्णय अनुसार असार २० देखि लागू हुने गरी सो सडकखण्डमा रातिको समय सवारी सञ्चालनमा रोक लगाएको बताउनुभयो । 

रातिदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको उहाँले जानकारी दिनुभयो । वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन सक्ने भएकाले यात्रु तथा सवारी साधनमा क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाउन अर्को निर्णय नभएसम्मका लागि बेंसीसहर–चामे–खाङसार (माथिल्ला मनाङ) सम्म रातको समय सवारी साधन सञ्चालनका रोक लगाएको उहाँको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४, हुम्डेदेखि सदरमुकाम चामेसम्म साँझ साढे ६ बजेपछि सवारी छुट्न रोक लगाएको छ । 

चामे नजिकै कोतोबाट अपराहृन साढे ४ बजेपछि लमजुङ सदरमुकाम बेंसीसहरका लागि सवारी साधन छुट्न रोक लगाएको छ । सो सवारी साधन तल्लो मनाङको नासों गाउँपालिका–१, तालडाँडा चौकीबाट बेलुकी साढे ६ बजे अगावै छुट्नुपर्नेछ । साढे ६ बजेदेखि बेंसीसहर वा तल्लो क्षेत्रमा जाने सवारी साधनमा रोक लगाइएको छ । 


यस्तै, लमजुङबाट मनाङतर्फको सवारी साधन लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ जगतबाट नासों गाउँपालिका–१, तालडाँडा हुँदै मनाङतर्फको सवारी साधन बेलुका ७ बजेभित्र प्रवेश गरिसक्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

बिहान ६ बजेपछि भने सवारी साधन सञ्चालनलाई खुला गरिएको उहाँले जानकारी दिनुभयो । यो समयमा सुरक्षा निकाय, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन सञ्चालन सम्बन्धमा तत्कालीन परिस्थिति विश्लेषण गरी जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा औचित्यको आधारमा त्यस्ता सवारी साधनको सञ्चालनको व्यवस्था मिलाइने प्रशासनले जनाएको छ ।

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडकमा वर्षाका कारण हरेक वर्ष बाढी पहिरो हुने गरेको छ । जोखिम विश्लेषण गरी सुरक्षा निकायले अवस्था समान्य भएपश्चात आवतजावतमा आवश्यक व्यवस्था मिलाइने मनाङ प्रशासनले जनाएको छ ।