मुख्य समाचार

सहमतिको समय अगावै देउवालाई पद हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहमति अनुसार पद हस्तान्तरण गर्ने बताउनु भएको छ ।

स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली राजदूतावासमा आयोजित अन्र्तक्रियामा प्रधानमन्त्री ओलीले सहमतिको समय अगावै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताउनु भएको हो । उहाँले वर्तमान सरकारको संरचना गठबन्धनको स्पष्ट सहमतिअनुसार बनेको भन्दै सत्ता हस्तान्तरणबारे अन्योल नरहेको बताउनु भयो ।

मुलुकको स्थायीत्वका लागि दुई ठूला दलको सरकार बनाउनु परेको भन्दै उहाँले आगामी निर्वाचन सम्मै दुई दलको समिकरण बलियो बन्ने जिकिर गर्नु भयो । त्यस्तै प्रधानमन्त्री ओलीले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनमा रहेका नेपाली व्यवसायीलाई नेपालमा आएर लगानी गर्न आग्रह गर्नुभयो । पर्यटन, ऊर्जा, कृषि, सूचनाप्रविधि र पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै उहाले लगानीका लागि आफुले वातावरण बनाइदिने आश्वासन दिनु भयो । अन्र्तक्रियामा स्पेन र पोर्चुगलका झण्डै ४० जना सहभागी थिए ।