मुख्य समाचार

कार्यसम्पादन सन्तोषजनक नभएका चार कम्पनी कालोसूचीमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएको चार कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डीजी इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा राखेको जानकारी दिएको हो । 

यी चारवटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ । कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ । 

ग्रीन लिफ प्रालिलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र शिवम् कन्स्ट्रक्सनलाई महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।


यस्तै, डीजी इगल कन्स्ट्रक्सनलाई रौतहटको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो भने विराटनगरस्थित शहरी विकास तथा भवन कार्यालयको सिफारिसमा थोमस कन्स्ट्रक्सन एण्ड सप्लायसलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।