मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा
-देशका विभिन्न भागमा बर्षापछिको बाढी र पहिरोले जनजीवन प्रभावित भइरहँदा मधेस प्रदेश सरकारले भने मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । मधेश प्रदेश सरकार मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेपछि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै दातृ निकायलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गर्ने निर्णय गरेको हो । यसका साथै, पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।