रूपन्देहीको दुरगामी बहुउद्देश्यीय सहकारीको २२ करोड बढी रकम हिनामिना, सञ्चालक फरार
- बुटवलरूपन्देहीस्थित डिंगर नगर दुरगामी बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार भएपछि १ हजार ९ सय बचतकर्ता अलपत्र परेका छन् ।
रूपन्देहीमा रकम अपचलन गरेर सञ्चालक फरार भएको यो १२ औं सहकारी हो । सो सहकारी संस्थाले दुध र दुग्धजन्य पदार्थको कारोबार गर्दै आएको थियो । नाफामै चलिरहेको सहकारीले हरेक वर्ष बचतकर्तालाई १ हजारदेखि २४ हजारसम्म बोनस उपलब्ध गराउने गरेको थियो । हरेक वर्ष बचतकर्तालाई केही बोनस वितरण गरेर रनभुल्लमा पार्दै सञ्चालकले करोडौं रकम अपचलन गरिरहेको अहिले खुलेको हो ।
रकम अपचलन भइरहेको सार्वजनिक भएपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुली फरार छन् । बचतकर्ताको अनुरोधमा अहिले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय दाङले सहकारीको आर्थिक कारोबारको लेखा परीक्षण गरिरहेको छ । प्रारम्भिक लेखा परीक्षणमा २२ करोडभन्दा बढी अपचलन भएको आशंका गरिएको छ । अपचलन रकममध्ये व्यवस्थापक पराजुलीले मात्रै ९ करोडभन्दा बढी चलाएको देखिएको छ । बाँकी रकम अध्यक्ष तिवारी र सचिव खड्काले अपचलन गरेको आरोप लागेको छ ।