मनाङको तिमाङखोलामा ४ वर्षपछि बेलिब्रिज
- लमजुङमनाङको चामे गाउँपालिका–१, तिमाङको तिमाङखोला (पावरहाउस) मा बेलिब्रिज निर्माण गरिएको छ । २०७८ असारमा आएको बाढीले बेलिब्रिज बगाएपछि सो ठाउँमा काठेपुल निर्माण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले यसअघि काठेपुलबाट सवारी वारपार हुँदै आएकोमा अहिले बेलिब्रिज निर्माण गरिएको बताउनुभयो ।
बेलिब्रिज निर्माण भएपछि मनाङी र मनाङ आउने पर्यटकलाई सहज भएको उहाँको भनाई छ । उहाँका अनुसार यसअघि बेलिब्रिज बगाएपछि निर्माण गरिएको काठेपुल अझै छ । त्यसबाट पनि सवारी र बटुवा वारपार गर्दै आएका छन् । लम्बाई ३० मिटर ४८ सेन्टिरमिटर रहेको बेलिब्रिजको चौडाइ ४ मिटर २० सेन्टिमिटर रहेको छ । ३० टन भार वहन क्षमता रहेको छ ।
पुल बनेपछि आवतजावतमा मात्रै नभइ विकास निर्माणका कार्य तथा खाद्यान्न ढुवानीका लागि समेत सहज भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । सो बेलिब्रिज सडक विभागको सहयोगमा हेटौंडाबाट ल्याएर जडान गरिएको हो ।
जडान र ट्रान्सपोटेशनको काम मनाङ मस्र्याङ्दी हाइड्रोपावरले गरेका थिए । प्राविधिक सहयोग डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले गरेको थियो । आयोजना कार्यालयका सव–इन्जिनियर सुमन अधिकारीका अनुसार असार १६ गतेबाट जडान कार्य सुरु गरिएको बेलिब्रिज असार अन्तिममा सकिएको हो ।
उहाँका अनुसार यसअघि राखिएको बेलिब्रिज बाढीले बगाउँदा काठको पुल बनाएर सवारी र मानिस वारपार गर्ने गरिएको थियो । बेलिब्रिज जडानपछि मनाङी र मनाङ आउजाउ गर्ने कर्मचारी, पर्यटक लगायतलाई सहज भएको उहाँको भनाई छ ।