एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयबाट पछाडी हट्न नसक्ने भण्डारीको भनाइ
-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने आफ्नो निर्णयबाट पछाडी हट्न नसक्ने बताउनुभएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको केही दिनपछि भण्डारीले आफू राजनीतिमा सक्रिय भइसकेकाले अब पछि हट्ने सम्भावना नरहेको बताउनुभएको हो ।
काठमाडौंको भंगालस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू निकट नेता–कार्यकर्तामाथि मच्चाइएको आतंक स्वीकार्य नहुने धारणा समेत राख्नुभएको छ । भण्डारीको अभिव्यक्तिले एमालेभित्र थप विवाद र धुव्रिकरण बढाउने देखिएको छ । भण्डारीले भन्नुभएको छ–“अहिले पार्टीको केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ, तर जसरी नेताहरुलाई थर्काउने, बोल्न नदिने र बोलेपछि कारवाहीको धम्की दिन थालिएको छ, यो तत्काल बन्द गरिनुपर्छ ।” सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफू राजनीतिमा फर्किनुको कारणबारे विस्तृतमा चर्चा गर्नुभएको थियो ।
त्यस्तै, स्वर्गीय मदन भण्डारीको हिरक जयन्ती मूल व्यवस्थापन समितिमा एमालेको पदाधिकारी तहका नेतालाई सहभागी गराउन आफूले गरेको आग्रह समेत अध्यक्ष ओलीले अस्वीकार गरेको भण्डारीको भनाइ थियो ।